काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माले उठाएको आलोचनाप्रति प्रत्यक्ष प्रतिक्रिया दिएका छन्। उनले पार्टीभित्र जनवादको अभ्यास भइरहेको र सिँगौरी खेल्न पनि छुट दिएको जिकिर गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको कार्यक्रममा प्रचण्डले बिना नाम उच्चारण शर्माप्रति कटाक्ष गर्दै भने, “मेरो कमजोरी फरक मत दमन गर्नु होइन, उदार हुनु हो। म न बादललाई हटाएँ, न किरणलाई। आज पनि केही साथीहरूले पार्टीभित्र सिँगौरी खेलिरहेका छन्। तर मैले सबैलाई कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न छुट दिएको छु। यही हो जनवाद।”

advertisement

मंगलबार त्यही मञ्चबाट उपमहासचिव शर्माले पार्टीभित्र जनवाद कमजोर भएको, केन्द्रीयता मात्रै हाबी भएको र नेतृत्वले ३६ वर्षमा के गर्‍यो भन्ने प्रश्न उठाएका थिए। त्यसको जवाफस्वरूप प्रचण्डले आफूले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म ऐतिहासिक नेतृत्व गरेको स्मरण गराए।

“माथि-तल्लो आलोचना सुनिरहेको छु। केहीलाई त ३६ वर्ष भयो, अझै किन छोड्दैनस् भन्ने छटपटी नै देखिन्छ। म पनि सोच्ने गर्छु, अब त छोडूँ कि भन्ने। तर अर्को मन भन्छ, म छोडेपछि झन् पार्टी बर्बाद नहोला?”, प्रचण्डले भने।

आफ्नो नेतृत्वकालको उपलब्धि उल्लेख गर्दै उनले थपे, “२०४८ सालमा माओवादी धारलाई एक बनाएँ। २०५२ मा विद्रोहको नेतृत्व गरें। २०६३ मा शान्ति सम्झौतामा हस्ताक्षर गरें। विद्रोह र शान्तिको नेतृत्व एकै नेताले गर्न सक्ने कुरा होइन। मैले वाम एकताको कुरा बारम्बार गरेँ। तर एकता नहुनुको कारण पनि सबैलाई थाहा छ।”

कार्यक्रममा उनले जनवादी अभ्यासको नाममा पार्टी एकता र सिद्धान्त कमजोर पार्न खोज्ने प्रवृत्तिप्रति सचेत रहन पनि पार्टी कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com