काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न आज पनि आफू अग्रसर रहेको बताएका छन्। उनले तीन दशकभन्दा बढी समयदेखि कम्युनिष्ट आन्दोलनमा बिताएको योगदान स्मरण गर्दै अहिलेको चुनौतीपूर्ण परिस्थितिमा पनि एकताको झण्डा बोकेरै हिँडिरहेको दाबी गरे।
बुधबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विद्रोह, शान्ति प्रक्रिया र पार्टी एकताको जटिल मोडमा आफू नेतृत्वमा रहेको उल्लेख गरे।
“कहिले विद्रोहको, कहिले शान्ति प्रक्रियाको, कहिले पार्टी एकताको नेतृत्व गरें,” उनले भने, “अहिले पनि म कम्युनिष्टहरूको एकता सुनिश्चित गर्न झण्डा बोकेर हिँडिरहेको छु।”
उनले पुष्पलाललाई सबै नेपाली कम्युनिष्टहरूको साझा व्यक्तित्वको रूपमा स्मरण गर्नुपर्नेमा जोड दिए। “पुष्पलाल हाम्रा साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूबीच एकता र मोर्चा निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता हो,” प्रचण्डले भने।
वर्तमान राजनीतिक परिदृश्यमा जनता बीच भ्रम फैलाउने प्रवृत्ति देखिएको भन्दै प्रचण्डले त्यसविरुद्ध क्रान्तिकारी शक्तिहरूलाई एकजुट हुन आह्वान गरे।
उनले पुष्पलाललाई जनयुद्धकै दौरानमा श्रद्धापूर्वक सम्मान गर्दै राजनीतिक दस्तावेज तयार पारेको पनि उल्लेख गरे।
“कम्युनिष्ट आन्दोलनलाई सुदृढ, सुसंगठित र संस्थागत गर्दै अगाडि बढ्न हामीले पुष्पलालको विचार र योगदानलाई मूल मार्गदर्शकको रूपमा लिनैपर्छ,” अध्यक्ष प्रचण्डले स्पष्ट पारे।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया