काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रले महिलादेखि दलित, आदिवासी र पिछडिएका वर्गसम्मका हक अधिकार स्थापित गरी उनीहरूलाई समाजको मुख्यधारामा ल्याउन ठूलो भूमिका खेलेको बताएका छन्।
काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल: एक तुलनात्मक अध्ययन’ पुस्तक लोकार्पण समारोहमा अध्यक्ष दाहालले भने, “कुनै पनि दलका महिला नेता पदमा आउँदा मलाई गर्व लाग्छ, यसले हाम्रो विद्रोहको औचित्य पुष्टि गर्छ।”
उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना लामो संघर्ष, त्याग र सहिदहरूको बलिदानको परिणाम भएको र यसले पछाडि परेका वर्गलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको स्मरण गराए।
अध्यक्ष दाहालले जाति, भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान नगरे देश विकास सम्भव नभएको र देशमा नकारात्मक विचार फैलाउने प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न पुस्तक महत्वपूर्ण औजार भएको बताए।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र लागू भएपछिका उपलब्धिहरूको चर्चा गर्दै नेपालले छिटो प्रगति गरेको दाबी गरे भने कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले गणतन्त्रलाई असफल बनाउन प्रयास भइरहेकाले सबैले एकजुट भएर त्यसलाई सफल बनाउनुपर्ने जोड दिए।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया