काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई सच्चा विचार, क्रियाशील संगठन र समर्पित नेतृत्वको प्रतीकका रूपमा स्मरण गरेका छन्।
बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनको सपना देख्नेहरूमाथि पुष्पलालको विचार अनुकरण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पुष्पलाल कहिल्यै सिद्धान्त छाडेर प्रतिपक्षीसँग सम्झौता गर्ने प्रवृत्तिमा नलागेको बताए।
“पुष्पलाल आदर्शमा अडिग रहनुभयो,” उनले भने, “उहाँसँग केही सीमा थिए होलान्, तर विचार, संगठन र प्रतिबद्धतामा अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ जात–धर्मभन्दा माथि उठ्नुभयो, आफ्नो थर ‘श्रेष्ठ’समेत उल्लेख गर्नुभएन। उहाँको नेतृत्व क्षमता र सिद्धान्तप्रतिको निष्ठा अहिलेको पुस्ताका लागि प्रेरणादायी छ।”
प्रधानमन्त्री ओलीले पुष्पलालले नेपालमा वैज्ञानिक समाजवादको जग हाल्ने, सशक्त संगठन निर्माण गर्ने र सैद्धान्तिक दिशाबोध दिने कार्यमा ऐतिहासिक योगदान पुर्याएको बताए। उनले भने, “हामीले उहाँले देखाएको बाटो र आदर्श बिर्सन मिल्दैन।”
वि.सं. १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको ‘कम्युनिस्ट म्यानिफेस्टो’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा उनको निधन भएको थियो।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया