काठमाडौं । अब सेयर नै नहुने डिम्याट खाता रोक्का हुने भएको छ । साथै पाँच वर्षदेखि नवीकरण नगरेका डिम्याट खातासमेत स्थगन गरिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले बुधबार जारी गरेको आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

advertisement

बोर्डले नयाँ व्यवस्थाबारे सरोकारवाला निकाय सिडिएससीलाई निर्देशन पनि दिइसकेको छ । बोर्डले सिडिएससीलाई विद्यमान व्यवस्थामा परिमार्जन गर्न, पाँच वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्दात नभएका डिम्याट खाता बन्द गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्ता खाता बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा सो छुट दिने र निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपछि मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनुपर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बन्धित विनियम संशोधनका लागि बोर्डमा पेस गर्न निर्देशन दिइएको छ ।

खातामा पैसा अनिवार्य 

बोर्डले बैङ्क खातामा पैसा भए मात्र दोस्रो बजारबाट सेयर किन्न मिल्ने व्यवस्था गरेको छ । नीति तथा कार्यक्रममार्फत दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैङ्क खातामा रकम भए मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाएको हो ।

साधारण सेयरमा आवेदन दिनासाथ भेरिफाइ हुने व्यवस्था गरेको बोर्डले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । धितोपत्रको प्राथमिक निष्कासनमा आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाले सिडिएस एन्ड क्लियरिङबाट एपिआई लिई आवेदकको आवेदन तत्कालै सिस्टम भेरिफिकेसन भई आवेदन रकम रोक्का हुने तथा सोही अनुसार धितोपत्र बाँडफाँटपछि फुकुवा हुने व्यवस्था गरिएको छ ।

गैरआवासीय नेपालीले जुनसुकै मुलुकमा बसेर पनि सेयर खरिद/बिक्री गर्न पाउने भएका छन् । बोर्डले जारी गरेको नीति तथा कार्यक्रमका अनुसार जुनसुकै मुलुकमा बसेका नेपाली नागरिकले नेपाली नागरिकता प्रयोग गरेर नेपालको सेयर बजारमा सेयर खरिद/बिक्री गर्न पाउने व्यवस्था गरिएको हो  ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com