काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशले पार्टीलाई लाभ भए पनि लोकतान्त्रिक प्रणालीका लागि भने नोक्सान हुने स्पष्ट पारेका छन्।
बुधबार एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पूर्वराष्ट्रपतिले पूर्वराष्ट्रपतिको मर्यादामा रहनु नै उपयुक्त हुने धारणा राखे। उनले पार्टी केन्द्रीय कमिटीको निर्णयअनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय भएको जानकारी दिए।
“विद्याजी सक्रिय राजनीतिमा फर्किनुभयो भने एमाले बलियो हुन्थ्यो, उहाँको व्यक्तित्व पार्टीको लागि उपयोगी हुन्छ,” पोखरेलले भने, “तर लोकतान्त्रिक मूल्य र परम्परा हेर्दा पूर्वराष्ट्रपतिले त्यसबाट पर बस्नु श्रेयस्कर हुन्छ।”
उनले सदस्यता नवीकरण नभएको भन्दै भण्डारीलाई निष्क्रिय बन्नुपर्छ भन्ने पार्टीको अपेक्षा नरहेको पनि उल्लेख गरे। “उहाँ देशकै अभिभावक हुनुहुन्छ, समसामयिक विषयमा चिन्ता र चासो राख्न पाउनु अस्वाभाविक होइन,” उनले स्पष्ट पारे।
पत्रकारले मिसन २०८४ सन्दर्भमा सोधेको प्रश्नको जवाफमा पोखरेलले पार्टी अध्यक्षका लागि कुनै पनि योग्य महाधिवेशन प्रतिनिधिले उम्मेदवारी दिनसक्ने बताए। उनले भने, “हामीले कसैलाई रोकेका छैनौं, तर केन्द्रीय कमिटीको सर्वसम्मत धारणा अनुसार मिसन ०८४ को नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने निष्कर्षमा पुगेका छौं।”
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया