काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेताको भोट बढाउने लोभमा अब विमानस्थल निर्माण नगर्न स्पष्ट धारणा व्यक्त गरेका छन्। बुधबार बसेको संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालको हवाई पूर्वाधार योजनामा गम्भीर पुनर्विचार आवश्यक रहेको बताए।

नेपाल सरकारद्वारा प्रस्तुत गरिएको “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१” माथिको संशोधन प्रस्तावहरूमा छलफल गर्ने क्रममा सांसद भट्टराईले देशभर हाल ५५ वटा विमानस्थल निर्माण भए पनि तीमध्ये नियमित सञ्चालनमा रहेका संख्या मात्र ३२ रहेको उल्लेख गरे।

advertisement

उनले भने, “राजनीतिक दबाब वा कुनै नेताको लोकप्रियता बढाउने नाममा विमानस्थल खोल्ने काम अब बन्द हुनुपर्छ। विमानस्थल थप्ने कुरा फेसन बन्न थालेको छ, तर हामीले अब गुणस्तरमा ध्यान दिनुपर्छ।”

उनले सरकारको नीति तथा कार्यक्रममा नयाँ विमानस्थल खोल्ने योजनालाई समय सान्दर्भिक नभएको उल्लेख गर्दै, “अबको प्राथमिकता निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्छ,” भन्ने धारणा राखे।

भट्टराईले नेपालको हवाई इतिहासमा देखिएका दुर्घटनाहरूको पनि स्मरण गरे। उनका अनुसार सन् १९४९ मा नेपालमा पहिलो पटक हवाई सेवा सुरु भएदेखि हालसम्म १०८ वटा उडान दुर्घटनाहरू भइसकेका छन्, जसमा ९५९ जनाले ज्यान गुमाएका छन्।

उनले हवाई सुरक्षामा सुधार गर्नका लागि मौजुदा पूर्वाधारको स्तरोन्नति र प्रभावकारी व्यवस्थापनमा जोड दिनुपर्ने बताए। भट्टराईको भनाइमा, “विमानस्थल बनाउने नाममा बजेट र स्रोतको दुरुपयोग होइन, सुरक्षासहितको दिगो हवाई सेवा प्रणाली निर्माण हाम्रो प्राथमिकता हुनुपर्छ।”

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com