काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेष्ठ नागरिकका मुद्दा सम्बोधनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जेष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधिमण्डलले अध्यक्ष निवास खुमलटारमा भेट गरी यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान तथा व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था र राष्ट्रिय सभामा जेष्ठ नागरिकको प्रतिनिधित्व सुनिश्चित गर्ने जस्ता मागहरू प्रस्तुत गरेको थियो।
महासंघका अनुसार हाल देशभर २५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन छन्, जसका कारण उनीहरू राज्यका सेवा–सुविधाबाट वञ्चित छन्। महासंघले यस समस्यालाई तत्काल समाधान गर्न सरकारको नेतृत्वसँग आग्रह गरेको हो।
प्रतिनिधिहरूका माग सुनेपछि अध्यक्ष प्रचण्डले ती मागहरू न्यायसंगत रहेको उल्लेख गर्दै भने, “म तपाईंहरूको मागलाई गम्भीरतापूर्वक लिएको छु। सक्दो सहयोग गर्नेछु। यस विषयमा हाम्रो पार्टी माओवादी केन्द्रबाट पनि आवश्यक सकारात्मक पहल गरिनेछ।”

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया