काठमाडाैं । कालीकोट जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य पचाल झरना अब क्यूआर कोडमार्फत थप पहिचान पाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि सूचीकृत १०० प्रमुख पर्यटकीय गन्तव्यहरूमा पचाल झरनालाई ६४औँ स्थानमा राखेपछि यसको प्रचारप्रसारमा नयाँ प्रविधिको प्रयोग थालिएको हो।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा बनाइएको क्यूआर कोडमार्फत अब आन्तरिक तथा बाह्य पर्यटकले पचाल झरनाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

advertisement

पचाल झरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बमका अनुसार, तयार पारिएको सूचना प्रविधिमैत्री क्यूआर कोड बोर्डमार्फत एक प्रति गाउँपालिकालाई हस्तान्तरण भइसकेको छ। “क्यूआर कोडको फ्रेम बुझेर ल्याइसकेकी छु,” उपाध्यक्ष बमले भनिन्, “यसले पर्यटकहरूलाई सहज जानकारी उपलब्ध गराउनेछ।”

गाउँपालिकाको अनुसार पचाल झरना ३८१ मिटर अग्लो छ, भने झरनाको बीचमा ठोक्किने भागसमेत जोड्दा कुल लम्बाइ ४१५ मिटर पुग्ने प्राविधिक कुलप्रसाद न्यौपानेले जानकारी दिए। यसले यसअघि नेपालको सबैभन्दा अग्लो मानिँदै आएको तेह्रथुमको ह्यातुङ झरना (३६५ मिटर) लाई पछाडि पारेको छ।

समुद्री सतहबाट करिब ९७० मिटर उचाइमा अवस्थित पचाल झरनामा पुग्न कर्णाली करिडोरको लाफागाडबाट करिब तीन घण्टा पैदल र एक घण्टा सवारी यात्रा गर्नुपर्ने हुन्छ।

झरनाको आसपासको क्षेत्र जैविक विविधताले भरिपूर्ण छ। यहाँ डाँफे, कालिज, घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुजस्ता दुर्लभ वन्यजन्तु पाइन्छन्।

पर्यटकका लागि खार्दु गाउँमा पाँचवटा घरमा होमस्टे सञ्चालनमा छन्। गाउँपालिकाका अनुसार झरनासम्म पुग्न रेलिङसहितको सुरक्षित गोरेटो बाटो पनि निर्माण गरिएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com