काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा नेकपा (एमाले)ले अवरोध गर्नु गलत भएको टिप्पणी गरेका छन्।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले भने, “एमालेले ब्रेक लगायो भन्ने सुनेँ, त्यो गलत हो भन्ने मेरो ठम्याइ हो। हामीले पनि पार्टी छोडेर उपराष्ट्रपतिमा पुगेका नन्दबहादुर पुनलाई पुनः पार्टीको उपाध्यक्ष बनाएका छौं।”
पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते पार्टीको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्। दुई कार्यकालसम्म राष्ट्रपति बनेपछि उनी एमालेको सक्रिय भूमिकामा फर्किन चाहन्थिन्। तर, एमालेले उनको सांगठानिक सदस्यता नवीकरण नभएको भन्दै पुनरागमनमा अवरोध सिर्जना गरेको छ।
भण्डारीले पार्टी अध्यक्षको भूमिका निर्वाह गर्ने चाहना राख्दै अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेकी थिइन्। तर, अध्यक्ष पुनः आफैं बन्ने तयारीमा रहेका ओलीले विधानको माध्यमबाट भण्डारीलाई रोक्ने योजना बनाइरहेको राजनीतिक वृत्तमा चर्चा छ।
यसै प्रसङ्गमा दाहालले एमालेको निर्णयप्रति असहमति जनाउँदै भण्डारीलाई राजनीतिमा फर्कन नदिनु अनुचित भएको बताए। माओवादी केन्द्रले आफैं पार्टी त्यागी उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्ष बनाइसकेको उदाहरण दिँदै, त्यस्तै प्रकृतिको अधिकार भण्डारीलाई पनि हुनु पर्ने धारणा राखेको हो।
उता, नेपाली कांग्रेससहित अधिकांश दलहरू भने राष्ट्रपतिजस्तो संवैधानिक पदमा बसेका व्यक्तिहरूले पुनः पार्टी राजनीतिमा फर्कन नहुने मतमा छन्। तर, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने यस्तो मतलाई अस्वीकार गर्दै पुनः सक्रिय राजनीतिमा फर्किने अधिकार उनीहरूकै भएको तर्क गर्दै आएको छ।
माओवादीको ठम्याइमा, पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई पुनः पार्टी भूमिकामा फर्कन कानुनी रूपमा रोक्ने कुनै स्पष्ट व्यवस्था छैन, त्यसैले अन्ततः निर्णय उनीहरूकै हातमा रहनु पर्छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया