काठमाडौं । कम्बोडिया र थाइल्याण्डबीच बिहीबार बिहानदेखि सुरु भएको सैन्य तनाव गम्भीर रूप लिँदै गएको छ। सीमावर्ती क्षेत्रमा कम्बोडियाबाट भएको हवाई आक्रमणमा परी थाइल्याण्डमा १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
मृतकमध्ये एक जना थाइल्यान्डका सैनिक अधिकृत रहेको जनाइएको छ भने अन्य ११ जना सर्वसाधारण हुन्। मृतकमध्ये बालबालिका र किशोरहरू पनि रहेका छन्। बिबिसीका अनुसार थाइल्यान्डको सुरिन प्रान्तमा २ जना, उबोन रेचथानीमा १ जना र श्रीसाकेत प्रान्तमा ८ जनाको मृत्यु भएको हो। झण्डै ३५ जना नागरिक घाइते भएका छन्।
कम्बोडियाबाट रकेट प्रहार भएपछि थाइल्याण्डले एफ-१६ लडाकू विमान प्रयोग गर्दै जवाफी कारबाही गरेको थियो। थाइ सेनाले कम्बोडियाका सैन्य अड्डाहरूलाई निशाना बनाएको छ। दिउँसोसम्म पनि दुई देशबीचको आक्रमण झनै चर्किएको बताइएको छ।
हालसम्म कम्बोडियाले आफ्ना क्षति र हताहतीबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन। यद्यपि, थाइल्याण्डको पेट्रोल पम्पमा क्षति पुर्याएको तस्बिरहरू सार्वजनिक भइसकेका छन्।
पश्चिमी मिडियाहरूका अनुसार सैन्य क्षमता अनुसार थाइल्याण्ड कम्बोडियाभन्दा तीन गुणा बलियो मानिन्छ। तर कम्बोडियाले विदेशी हस्तक्षेप र मन्दिर क्षेत्रमा गरिएको उल्लंघनको जवाफस्वरूप कारबाही गर्नु परेको जनाएको छ।
बिहीबार बिहानैदेखि दुवै देश एक अर्कालाई आक्रमण सुरु गरेको दोष लगाइरहेका छन्। थाइल्याण्डले सीमावर्ती क्षेत्रमा रकेट प्रहार गरी कम्बोडियाले जानाजान उत्तेजना फैलाएको आरोप लगाएको छ। यता कम्बोडियाले भने थाइ सेनाले पूर्वसहमति विपरीत सीमा मिचेर ऐतिहासिक मन्दिर क्षेत्रमा तारबार गर्न खोजेको र त्यसैबाट तनाव सुरु भएको दाबी गरेको छ।
यस सैन्य तनावसँगै दुई देशले कूटनीतिक सम्बन्धमा कटौती गरेका छन्। ऐतिहासिक रूपमा कम्बोडिया र थाइल्याण्डबीच सीमा विवाद पुरानो हो। फ्रान्सको उपनिवेश कालमा बनाइएको ८१७ किलोमिटर लामो सीमालाई लिएर अहिलेसम्म दुबैले सहमति जनाएका छैनन्।
कम्बोडियाले यसअघि पनि विवादित क्षेत्रहरूको विषयमा अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा मुद्दा दायर गरेको थियो। पछिल्लो झडप भएको क्षेत्रसमेत आइसिजेमा उजुरी परेको भूभागमा पर्ने बताइएको छ। तर थाइल्याण्डले भने आइसिजेले उक्त क्षेत्रमा अधिकारक्षेत्र प्रयोग गर्न नसक्ने अडान लिँदै आएको छ।
सन् २०११ मा पनि प्रेअ भिहेयर मन्दिर क्षेत्र वरिपरि दुई देशबीच ठूलो सैन्य झडप भएको थियो, जसमा करिब २० जनाको मृत्यु र हजारौंको विस्थापन भएको थियो। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत उक्त मन्दिर क्षेत्र सीमावर्ती विवादको मुख्य केन्द्रबिन्दुमा रहँदै आएको छ।
ताजा घटनापछि चीन, मलेसिया लगायतका छिमेकी राष्ट्रहरूले वार्तामार्फत विवाद समाधान गर्न आह्वान गरेका छन्। विशेषज्ञहरूले द्वन्द्व थप चर्किन सक्ने भन्दै दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया