काठमाडौं । नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्तिविशेषलाई लक्षित गर्दै छानबिन तथा कारबाही गरिरहेको भन्ने गम्भीर आरोपबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै सांसद पूर्णबहादुर घर्तीमगरले अदालतले उठाएको प्रश्न गम्भीर भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भने, “अख्तियार प्रमुखले व्यक्ति छनोट गरेर कारबाही गरेको भन्ने अदालतको निर्णयसम्बन्धी समाचार आएको छ। यस विषयमा सरकारको धारणा के हो? सभामुखमार्फत म सरकारको जवाफ माग्न चाहन्छु।”
सन्दर्भस्वरूप, वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारकै प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नगरेको भन्दै विशेष अदालतले प्रश्न उठाएको छ। सो निर्णयपछि अख्तियारको निष्पक्षता र भूमिका बारेमा फेरि बहस सुरु भएको छ।
माओवादी केन्द्रले यस्तै गम्भीर प्रकृतिको विषयमा सरकारले चुप लागिरहन नमिल्ने भन्दै संसदमार्फत सार्वजनिक जवाफ माग गरेको हो।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया