बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा यात्रु बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

क्युडीबाट वडा कार्यालय कवाडीतर्फ जाँदै गरेको बा.प. ०३–००१ ज. ०३३८ नम्बरको जीप अनियन्त्रित भई कच्ची सडकबाट दुर्घटनामा परेको हो। जीपमा क्षमताभन्दा बढी यात्रु चढेका थिए।

advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार, दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको हो। ३५ वर्षीया जुनेली रोकायाको भने उद्धारका क्रममा मृत्यु भएको जनाइएको छ।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये गम्भीर अवस्थाका पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए। उनका अनुसार, एकै पटक सबैलाई नउडाइ सकेकाले पटक–पटक गरेर सबै घाइतेको उद्धार गरिएको हो।

घाइतेहरूमा जीप चालक २३ वर्षीय गौरी बुढा, ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया र ४५ वर्षीय वीरबहादुर रोकाया प्रमुख छन्।

घटनापछि हिमाली गाउँपालिकाले तत्काल एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरी घाइतेको उद्धार तथा उपचारमा सहयोग गरेको जनाएको छ।

प्रहरीले दुर्घटनाको विस्तृत विवरण संकलनको काम अघि बढाएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com