काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्म विपरीत सञ्चालनमा रहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घर्तीमगरले सरकार नैतिकता र संवैधानिक प्रक्रियाबाट विमुख भएको भन्दै तीव्र आलोचना गरे। “सरकार न त नैतिक जगमा अडिएको छ, न त संवैधानिक प्रक्रियामा,” उनले भने, “बरु यो सरकार योजनाबद्ध रूपमा संवैधानिक उल्लङ्घनमार्फत टिकाइएको सत्ताको दुर्गन्धित नमुना हो।”
उनका अनुसार सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिए पनि जनतालाई झुटो स्थायित्वको भ्रममा राखिएको छ।
सांसद घर्तीमगरले संसद्लाई सत्ताको ‘थिएटर’ बनाइएको आरोप लगाउँदै प्रधानमन्त्रीले संसद्लाई सिंहदरबारकै कार्यक्षेत्रमा सीमित गर्न खोजेको टिप्पणी गरे।
“संसदीय अभ्यास, विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा – यी सबै आज अपहेलित र उपेक्षित छन्,” उनले भने, “पदीय दुर्गन्धले संसदको गरिमा नै ओझेलमा परेको अवस्था छ।”
उनले वर्तमान सरकारप्रति गम्भीर प्रश्न उठाउँदै संसदीय लोकतन्त्रको रक्षा गर्न सबै दललाई आह्वान गरे।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया