काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिलाई कडा आलोचना गर्दै ती अभिव्यक्तिलाई “हावादारी” भनेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले प्रधानमन्त्रीले ऐतिहासिक विषयहरूमा तथ्यविहीन र भ्रामक अभिव्यक्ति दिएको आरोप लगाए। उनले यस्तो गैरजिम्मेवार अभिव्यक्तिले समाजमा भ्रम फैलाउने भन्दै सभामुखसमक्ष हस्तक्षेप (रुलिङ) को मागसमेत गरे।
साहले प्रधानमन्त्रीले श्रीरामको जन्मस्थल नेपाल रहेको दाबी गर्दै बोलेका अभिव्यक्तिको खण्डन गर्दै भने, “प्रधानमन्त्री जस्तो गरिमायुक्त पदमा बसेर झुटको खेती गर्नु, आमलाई इम्ली भन्नु, समाजलाई अन्धकारतर्फ धकेल्नु स्वीकार्य छैन।”
उनले प्रधानमन्त्रीले बोलेका यस्ता विषयहरू तथ्यमा आधारित हुनुपर्ने र त्यो पनि संसदमा प्रस्तुत गरिनुपर्ने बताए।
साहले रामायण क्षेत्री–बाहुन समुदायको सांस्कृतिक आख्यान भए पनि नेपालको मूल बासिन्दा आदिवासी जनजातिहरू भएको प्रष्ट पारे। “यदि चितवनमा राम जन्मिएका थिए भने, त्यहाँका आदिवासी थारु समुदाय हुन्। चतरा क्षेत्रमा विश्वामित्रका आश्रम थिए भने, त्यहाँका किराती समुदाय हुन्। त्यसो भए, कसरी क्षेत्री–बाहुनका दाबीहरू स्थापित गर्न खोजिएको हो?” — उनले प्रश्न गरे।
सांसद साहले इतिहासको वास्तविकता तोडमोड गर्दै जनजातिहरूको पहिचान र अस्तित्व मेटाउने प्रयास भएको आरोप लगाए। “इतिहासमाथि छेडछाड गरेर नेपाली समाजलाई कहाँ लान खोजिएको हो?” — उनको प्रश्न थियो।
प्रधानमन्त्रीले बोलेका यस्ता विषयहरू राजनीतिक स्टन्ट भएको टिप्पणी गर्दै साहले भने, “तथ्य र इतिहासका आधारमा बोल्नुपर्ने हो। भ्रम फैलाएर राजनीतिक फाइदा लिने काम प्रधानमन्त्री स्तरबाट हुनु हुँदैन।”
उनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा श्रीरामको जन्मभूमिसम्बन्धी दाबीलाई भारतीय पक्षसँग प्रमाणसहित उठाउन आग्रह गरे। “यदि उहाँको भनाइ सत्य हो भने पुरातात्त्विक प्रमाणसहित इन्डियन प्रधानमन्त्रीसँग वार्ता गर्नुहोस्,” — साहले सुझाए।
पूर्वमन्त्रीसमेत रहेका साहले ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहँदा आफूले सीताको तस्वीर क्यालेन्डरमा राख्न प्रस्ताव गर्दा अस्वीकार गरिएको अनुभव सुनाए। उनले भनाइ, व्यवहार र निर्णयबीच मेल नहुनु दु:खद भएको बताए।
“प्रधानमन्त्री जस्तो गरिमा बोकेको व्यक्तित्वले तथ्यमा आधारित अभिव्यक्ति दिनुपर्छ,” — साहले भने, “सत्यको बाटो समाजलाई प्रकाशतर्फ लैजान्छ, तर झुटको खेतीले अन्धकार र विनाश निम्त्याउँछ।”
अन्त्यमा उनले सभामुख समक्ष प्रधानमन्त्रीका भ्रामक भनाइहरू संसदमा छलफल गरियोस् भन्ने आग्रह गर्दै ती अभिव्यक्तिको औपचारिक रूपमा संशोधन गरिनुपर्ने माग गरे।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया