काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समृद्ध नेपाल निर्माणका लागि नेपाली कांग्रेस नै एक मात्र सक्षम राजनीतिक शक्ति भएको दाबी गरेका छन्।
जननेता बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा बीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा आर्थिक रूपान्तरणको अवसर र चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद नै नेपालको आर्थिक समृद्धिको सही मोडल भएको बताए।
डा. महतले कम्युनिष्ट दलहरूले अघि सारेको राज्य-नियन्त्रित आर्थिक मोडल विफल भइसकेको उल्लेख गर्दै भने, “त्यसले न त आर्थिक समृद्धि दिन सक्छ, न नागरिकलाई अधिकारसम्पन्न बनाउँछ।” उनले तथाकथित नयाँ भनिएका दलहरू पनि यस्ता रणनीति अपनाउन खोजिरहेका भए तापनि, त्यस्ता उपायहरू व्यावहारिक नभएको जिकिर गरे।
बीपी कोइरालाको दर्शनबारे चर्चा गर्दै महतले भने, “बीपीले नागरिकलाई आर्थिक र सामाजिक रूपमा सक्षम बनाउनु नै राष्ट्र बलियो बनाउने बाटो हो भन्ने विश्वास राख्नुभयो।” लोकतान्त्रिक समाजवादको अवधारणाले निजी लगानी र सामाजिक न्यायलाई समेट्ने भएकाले त्यो नेपालजस्तो मुलुकका लागि अझ सान्दर्भिक रहेको उनले स्पष्ट पारे।
कार्यक्रममा महतले पार्टीभित्र सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। “हामी आफ्ना मान्छेहरूमाथि नै सामाजिक सञ्जालमा आक्रमण गर्दैछौं, आफूले काम नगरी अरूका कमजोरी टिपेर राजनीति गर्ने प्रवृत्ति गलत हो,” उनले भने।
अबको समयमा सूचना प्रविधि, पर्यटन र उत्पादनमुखी अर्थतन्त्रतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक रहेको महतको भनाइ छ। उनले २०४६ सालपछि बीपी कोइरालाकै नीति अनुसार आर्थिक वृद्धि दर २ प्रतिशतबाट ६ प्रतिशतभन्दा माथि पुगेको स्मरण गर्दै लोकतान्त्रिक समाजवादको प्रभावकारी कार्यान्वयनबाट देश समृद्धितर्फ अघि बढ्न सक्ने धारणा राखे।
उनले निष्कर्षमा भने, “हामी एकीकृत भएर अघि बढ्यौं भने नेपाली कांग्रेस देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको नेतृत्व गर्न सक्षम छ।”
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया