काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको पक्षमा देशभरबाट २७ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरिएको पार्टीले जनाएको छ।

रास्वपाका अध्यक्ष लामिछानेविरुद्ध राज्यले राजनीतिक प्रतिशोध देखाएको आरोप लगाउँदै पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमार्फत हालसम्म २७ लाख ५० हजार ६७७ जनाको समर्थन प्राप्त भएको रास्वपाका अध्यक्षीय सहयोगी प्रमोद न्यौपानेले जानकारी दिए।

advertisement

उनका अनुसार प्रदेशगत रूपमा कोशीमा २ लाख १३ हजार १०६, मधेसमा १ लाख ४ हजार ३६०, बागमतीमा ७ लाख १३ हजार ३३१, गण्डकीमा ५ लाख १२ हजार १९४, लुम्बिनीमा २ लाख ५२ हजार ४३१, कर्णालीमा ७२ हजार १४२ र सुदूरपश्चिममा १ लाख १० हजार ५१२ हस्ताक्षर प्राप्त भएका छन्।

त्यसैगरी, पार्टी मुख्यालय वनस्थलीमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३६ हजार ५१० पुगेको छ। काठमाडौं उपत्यकाभित्र रास्वपाले राखेका विभिन्न बुथहरूबाट ७४ हजार ११३ हस्ताक्षर प्राप्त भएको छ।

प्रविधिमार्फत सङ्कलन गरिएको हस्ताक्षरमा ह्वाट्सएपमार्फत ७ लाख ५५२ जनाले समर्थन जनाएका छन् भने इमेलमार्फत ८३ हजार ५६६ हस्ताक्षर प्राप्त भएको रास्वपाले जनाएको छ।

न्यौपानेका अनुसार अझै केही विवरण अद्यावधिक गर्ने प्रक्रिया बाँकी छ।

रास्वपाले लामिछानेविरुद्धको कदमलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै आएको छ। सोही आरोपविरुद्ध जनमत सँगाल्ने उद्देश्यले पार्टीले हस्ताक्षर अभियान सुरु गरेको हो।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा अध्यक्ष लामिछानेले गत असार ७ गते हस्ताक्षर अभियानको घोषणा गरेका थिए। त्यसपछि देशव्यापी रूपमा सुरु गरिएको अभियान अहिले पनि जारी छ।

रास्वपाले यो अभियानलाई ‘सामान्य नागरिकको आवाजलाई राज्यसामु पुर्‍याउने’ माध्यमका रूपमा अर्थ्याएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com