काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालमा पर्यटन विकासका लागि निजी क्षेत्रको लगानीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने बताएका छन्।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरकार एक्लैले पर्यटन पूर्वाधार निर्माण गर्न नसक्ने भएकाले निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। “सरकारले एक्लै सबै कुरा गर्न सक्दैन, त्यसैले निजी क्षेत्रका लगानीकर्तालाई सहज वातावरणसहित स्वागत गर्नुपर्छ,” मन्त्री पाण्डेले भने।
उनले मन्त्रालयले हाल नीतिगत सुधारमा विशेष ध्यान दिएको उल्लेख गर्दै पर्यटन क्षेत्रको बजेट सीमित रहेको र यस अवस्थामा निजी लगानी आवश्यक रहेको धारणा राखे। साथै, नेपालका प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताबाट पर्यटन प्रवर्धन गरी समृद्धिको मार्ग तयार गर्न सकिने विश्वास व्यक्त गरे।
कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउने सन्दर्भमा संघीय सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै मन्त्री पाण्डेले किरात सर्किटको प्रवर्द्धनमा सरकार अग्रसर हुने बताए।
“हामीले सगरमाथा जस्तो गौरवशाली प्रतीकलाई मात्र देखाउने होइन, त्यससँग जोडिएको हाम्रो विचार, दर्शन र जिम्मेवारीलाई पनि प्रस्तुत गर्नुपर्छ,” उनले भने।
मन्त्री पाण्डेले थुप्रै पर्यटकीय गन्तव्यहरूको खोज तथा अनुसन्धान नै हुन नसकेको उल्लेख गर्दै ती गन्तव्यहरूको पहिचान, अनुसन्धान र प्रवर्द्धनबाट समग्र राष्ट्रलाई लाभ हुने बताए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले पर्यटकहरूको प्रवृत्तिमा परिवर्तन आएको जनाउँदै अबको समय अनुभव र अन्वेषणमूलक पर्यटनको भएको बताए।
“पर्यटकहरू अब बनेका गन्तव्यभन्दा पनि नयाँ गन्तव्यको खोजीमा छन्,” उनले भने। साथै, नेपाली चलचित्र र गीत-संगीतले पनि गन्तव्य प्रचारमा उल्लेखनीय भूमिका खेलिरहेको उनले बताए। गन्तव्यहरूको ब्राण्डिङमार्फत विदेशी पर्यटक आकर्षण गर्न सबै सरोकारवालाबीच सहकार्य भइरहेको समेत जोशीले बताए।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया