काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ शीतलपाटीमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भक्तपुरबाट झापातर्फ गइरहेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप गाडी बिहान दुर्घटनामा परेको हो। चारवटा जर्सी गाई लिएर जाँदै गरेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–४ निवासी ३२ वर्षीय चालक निरज रेग्मी घाइते भएका छन्। उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। गाडीमा सँगै रहेका उनका दाजु, ३८ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा मृत्यु भएको हो। मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाग्रस्त गाडीमा राखिएको चारमध्ये दुई गाईको घटनास्थलमै मृत्यु भएको छ भने दुई गाई घाइते अवस्थामा जीवित फेला परेका छन्।
इलाका प्रहरी कार्यालय खुर्कोटका निरीक्षक वसन्तबहादुर भुजेलका अनुसार गाडी पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा भेटिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया