काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनबारे गम्भीर छलफल गरिएको छ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा उपनिर्वाचनको तयारी र त्यहाँको संगठनात्मक अवस्थाबारे केन्द्रित भएर कुराकानी भएको हो।
बैठकमा रूपन्देही जिल्ला सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाणले क्षेत्र नम्बर ३ को वर्तमान राजनीतिक अवस्था, मत गणित र सम्भावनाबारे विस्तृत जानकारी दिएका थिए।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार, “बैठकमा पार्टी एकताबद्ध भएर चुनावमा होमिने निर्णयमा सहमति भएको छ।” उनका अनुसार हालसम्म उम्मेदवारको विषयमा औपचारिक छलफल भने गरिएको छैन।
यसअघि, सभापति देउवालाई भेट्न पुगेका देउवा निकट पाँचजना पूर्वपदाधिकारीहरूले बालकृष्ण खाण वा अन्य योग्य व्यक्तिलाई उम्मेदवार बनाएर चुनाव जित्ने गरी तयारी अघि बढाउन सुझाव दिएका थिए।
२०७९ सालको आमनिर्वाचनमा कांग्रेसका उम्मेदवार बालकृष्ण खाण राप्रपाका दीपक गिरीसँग पराजित भएका थिए। गिरीको निधनपछि हाल उपनिर्वाचनको परिस्थिति सिर्जना भएको हो।
हालसम्म पार्टीले तल्लो तहका समितिबाट उम्मेदवारका आकांक्षीको नाम मागेको छैन। यद्यपि, खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कारण उनलाई उम्मेदवार बनाउनु उचित नहुने धारणा पार्टीभित्र पनि रहेको बताइएको छ।
तर, बालकृष्ण खाणले भने उपनिर्वाचनलाई आफ्नो राजनीतिक पुनरागमनको अवसरका रूपमा लिएको बुझिएको छ।
२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस रूपन्देही–३ मा सबैभन्दा ठूलो दल बनेको थियो। कांग्रेसले २०,२७९ मत पाएको थियो भने एमालेले १६,९८६, रास्वपाले १४,१५४, राप्रपाले ९,१५४, नाउपाले ६,०१०, जसपाले ५,२९१, लोसपाले ५,०५३, जनमतले ३,६३२ र माओवादी केन्द्रले २,६३७ मत पाएका थिए।
यी आँकडालाई आधार मानेर कांग्रेसले यो क्षेत्र जित्ने सम्भावना देखिएको भन्दै एकढिक्का भएर अघि बढ्ने तयारी भइरहेको स्रोतको भनाइ छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया