काठमाडौं । कास्की जिल्लाको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुखको सरुवासँग जोडिएको ७८ लाख रुपैयाँको घुस प्रकरणले अब नागरिक उन्मुक्ति पार्टीलाई समेत नराम्ररी प्रभावित बनाएको छ। पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठमाथि मुछिएको आरोपपछि पार्टीभित्रको आन्तरिक कलह थप चर्किएको छ।

यो विषय पार्टीभित्र प्रवेश गरेसँगै संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाएका छन्। चौधरीले पार्टीको विधान अनुसार महासचिव गंगाराम चौधरीमार्फत बैठक आह्वान गरेका हुन्। शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको बैठक अझै सुरु भइसकेको छैन।

advertisement

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूले नबोलाएको भन्दै बैठक बहिष्कार गरेकी छिन्। उनले सो बैठकलाई “अवैधानिक” ठहर गर्दै त्यसबाट लिइने कुनै पनि निर्णय मान्य नहुने चेतावनी दिएकी छन्।

तर संरक्षक चौधरीले श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले भने, “अध्यक्षमाथि प्रश्न उठेका छन् भने बैठकमा उपस्थित भएर जवाफ दिनुपर्छ। आरोप लाग्दैमा पुष्टि हुन्छ भन्ने होइन, तर शंकाको जवाफ दिनु नेतृत्वको दायित्व हो।”

२०७८ पुसमा रेशम चौधरी जेलमै रहँदा रञ्जिता श्रेष्ठको नेतृत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले २०७९ को निर्वाचनमा उल्लेखनीय सफलता हात पारेको थियो। तर २०८० जेठमा चौधरीको रिहाइ र त्यसपछिको महाधिवेशनपछि पार्टीमा गुटबन्दी चुलिएको हो ।

महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएपछि दुई नेताबीच खुला द्वन्द्व सुरु भएको थियो। चौधरी र श्रेष्ठ पति–पत्नी भए पनि राजनीतिक नेतृत्वको स्पर्धाले पार्टीलाई गहिरो संकटमा पुर्‍याएको नेताहरू स्वीकार गर्छन्।

गुटगत राजनीति र आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा पाउने भनिएको मुख्यमन्त्री पद गुमायो। पार्टीका दुई मन्त्री बर्खास्त भएपछि असन्तुष्ट पार्टीले केन्द्रमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

एक समय जनमत पार्टीसँग एकताको तयारीमा जुटेको नागरिक उन्मुक्ति पार्टी अन्ततः आन्तरिक विवादकै कारण त्यो प्रयास सफल बनाउन सकेन। एकता घोषणाको अघिल्लो दिन रेशम चौधरीलाई नक्कली पत्रको आधारमा पक्राउ गरिएपछि प्रक्रिया भाँडिएको थियो। हाल दुवै पार्टीबीच एकताको सम्भावना प्रायः समाप्त भइसकेको छ ।

भूमि सरुवामा संलग्नता आरोपित भएपछि रञ्जिता श्रेष्ठ अख्तियारमा बयान दिइसकेकी छिन्। सोही प्रकरणका सन्दर्भमा संरक्षक रेशम चौधरीले केन्द्रीय समिति बोलाउँदा श्रेष्ठले अनुपस्थित हुने जनाएकी हुन्। पार्टीका नेताहरूको भनाइमा, आन्तरिक विवाद समाधानका लागि छलफल जरुरी छ तर नेतृत्व तहमा संवाद नभएर पार्टी गहिरो संकटमा परेको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com