काठमाडौं । संवैधानिक निकायलाई दलगत हितअनुसार प्रयोग गर्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले शुक्रबारको प्रतिनिधिसभा बैठकमा कडा आपत्ति जनाएका छन्।

रास्वपाकी सांसद विनीता कठायतले नेकपा (एमाले) सांसदहरूले कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव दर्ता गराउनुको गम्भीर प्रश्न उठाउँदै यसले संवैधानिक निकायहरूलाई दलका कार्यकर्ता भर्ना गर्ने थलो बनाउने संकेत देखिएको बताइन्। उनले भनिन्, “कम्तीमा दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्ने कुरामा एमाले किन सहमत छैन? के कारणले हटाउन खोजिँदैछ?”

advertisement

सांसद कठायतले यो विषय आम जनताले गहिरो चासोका साथ नियालिरहेको भन्दै सांसदहरूलाई संवेदनशील बन्न आग्रह गरिन्। साथै, भिजिट भिसा दुरुपयोग प्रकरणमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउँदै उनले टालटुले अध्ययन समिति बनाएर झारा टार्ने काम भइरहेको टिप्पणी गरिन्। “अन्तर्राष्ट्रिय जगतले समेत यो विषय गम्भीर रूपमा हेरेको छ,” उनले भनिन्, “त्यसैले अब ढिला नगरी उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्छ।”

यस्तै, राप्रपाका सांसद धवलशम्शेर जबराले गत चैत १५ गते तीनकुनेमा नागरिकले संविधानप्रदत्त अधिकार प्रयोग गर्दा राज्यले अत्यधिक बल प्रयोग गरेको आरोप दोहोर्‍याए। उनले घटनासँग सम्बन्धित व्यक्तिहरूलाई झुटा मुद्दा लगाइएको भन्दै त्यसविरुद्ध न्यायालयबाट न्याय पाउने विश्वास व्यक्त गरे। साथै, उनले घटनाको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग पनि दोहोर्‍याए।

भिजिट भिसा काण्डको निष्पक्ष छानबिनको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरूले शुक्रबारको बैठक पनि बहिष्कार गरे। उनीहरूले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com