काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र सांसद सुमना श्रेष्ठलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले भिजिट भिसाको विषयलाई लिएर रास्वपाले अनावश्यक हंगामा गरिरहेको बताएका छन्। उनले अघिल्लो उदाहरण दिँदै भने, “भिजिट भिसामा विदेश जाने, उतैको नागरिकता लिने, उतै घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किएर पार्टी खोल्ने, त्यसपछि मन्त्री र उपप्रधानमन्त्री समेत बन्ने अभ्यास त भइसकेको छ। अब किन यति धेरै चिन्ता गर्नु?”
उनको अभिव्यक्तिलाई प्रत्यक्ष रूपमा रवि लामिछाने र सुमना श्रेष्ठतर्फ लक्षित टिप्पणीका रूपमा हेरिएको छ। घिमिरेले रास्वपाको अधिकांश नेतृत्वले यही बाटो अपनाएर उपलब्धि हासिल गरेको आरोप पनि लगाए।
उनले थपे, “भोलिका दिनमा भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहोर्याउलान् नि, किन चिन्ता गर्नुहुन्छ?”
उनले भिजिट भिसामा गएर उतैको नागरिकता लिने र वैवाहिक सम्बन्ध गाँस्ने कार्य अन्तर्राष्ट्रिय कानुन अनुसार नै आपत्तिजनक हुने दाबीसमेत गरे।
रास्वपाले पछिल्ला केही महिनादेखि भिजिट भिसाको विषयमा छानबिन गर्न माग गर्दै सदनमा निरन्तर दबाब दिँदै आएको छ। यसै सन्दर्भमा कांग्रेस प्रमुख सचेतकको टिप्पणीले राजनीतिक बहसमा थप ताप ल्याएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया