काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र श्रममन्त्री शरदसिंह भण्डारीद्वारा हेलिकोप्टर चढेर गरिएको सुख्खा क्षेत्रको निरीक्षणमाथि आपत्ति जनाएको छ।
रास्वपाका सांसद अशोक कुमार चौधरीले सामाजिक सञ्जालमार्फत सरकारको यो कदमप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले हेलिकोप्टरको लाखौँ रुपैयाँ खर्च गरेर अवलोकनमा जानुभन्दा पीडित किसानहरूलाई राहत स्वरूप सो रकम वितरण गरिएको भए धेरै प्रभावकारी हुने टिप्पणी गरेका छन्।
“हेलिकोप्टर उडानको खर्च किसानको हातमा राहतको रूपमा पुगेको भए के त्यो कम उपयोगी हुनेथियो?” चौधरीले लेखेका छन्, “कृषकलाई फोटो सेसन होइन, तत्काल बीउ, मल, सिँचाइ र प्रत्यक्ष राहत आवश्यक छ।”
उनले तराई–मधेस क्षेत्रका किसानहरू अहिले गम्भीर समस्यामा रहेको जनाउँदै अवलोकन मात्र गरेर समाधान नहुने स्पष्ट पारे। “खेत चिरा-चिरा परेका छन्, धान र गहुँ सुक्न थालेका छन्, खानेपानी र सिँचाइको अभाव छ, तर सरकारले अझै मौनता अपनाइरहेको छ,” उनले भने।
चौधरीले अवलोकनभन्दा अब ठोस नीति र राहत प्याकेज अघि सार्नुपर्ने आवश्यकता औँल्याएका छन्। “कृषकलाई अब आश्वासन होइन, प्रत्यक्ष र व्यवहारिक सहयोग चाहिएको छ,” उनले जोड दिए।
रास्वपाले सरकारलाई कृषकहरूका पीडा बुझ्न केवल हेलिकोप्टरबाट माथिबाट हेर्ने होइन, जमीनमै उत्रिएर व्यवहारिक कदम चाल्न आग्रह गरेको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया