काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले मधेस क्षेत्रमा दशकौँदेखि अधुरा रहेका खानेपानी आयोजनाका कारण मरुभूमिकरणको खतरा बढ्दै गएको भन्दै संसदमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले मधेसबासीको जीवनस्तरमा प्रतिकूल असर पार्ने गरी खानेपानी, सिँचाइ र मलको अभाव भएको उल्लेख गर्दै तत्काल राहत र दीर्घकालीन समाधान आवश्यक रहेको बताए।
शर्माका अनुसार मधेसमा करिब तीन दशकअघिदेखि सुरु गरिएका धेरै खानेपानी आयोजनाहरू अझै अधूरा छन्। “यी आयोजना अलपत्र हुँदा लाखौं मधेसबासी पीडित छन्। पानीको चरम अभाव छ। चुरे क्षेत्रको विनाशले जलस्रोत सुक्दै गएका छन्, र वैज्ञानिकहरूले निकट भविष्यमा मरुभूमिकरण हुने चेतावनी दिइसकेका छन्,” शर्माले भने ।
शर्माले मधेसका किसानहरू मलको चरम अभावसँग जुध्न बाध्य भएको उल्लेख गर्दै सीमा नाकाबाट मल ल्याउने विकल्प खोल्न सरकारलाई आग्रह गरे। “किसानले मल ल्याउन नपाउने? नाका खोलौं, विकल्प दिनुपर्छ,” उनले भने।
खडेरी र पानी अभावबीच बोरिङमार्फत सिंचाइ गरिरहेका किसानहरूलाई सरकारले सहयोग गर्नुपर्ने भन्दै शर्माले बोरिङ प्रयोग गर्दा लाग्ने विद्युत महसुल समेत सरकारले व्यहोर्नुपर्ने माग गरे। “मधेसमा सिँचाइको प्रमुख विकल्प बोरिङ हो। तर विद्युत महसुलकै कारण किसान निराश छन्। सरकारले त्यो खर्च बेहोरिदिनुपर्छ,” शर्माको भनाइ थियो ।
सांसद शर्माले सरकारलाई मधेसको पानी, मल र सिँचाइ समस्या समाधान गर्न स्पष्ट र प्रभावकारी नीति ल्याउन आग्रह गरे। “यो केवल क्षेत्रीय मुद्दा होइन, देशको खाद्य सुरक्षासँग जोडिएको विषय हो,” उनले भने।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया