काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबराले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले सरकारमाथि गम्भीर आरोप लगाउँदै राजावादी विचार राखेकै कारण आफूहरूलाई झुटा मुद्दामा फसाइएको दाबी गरे। उनले देशद्रोहदेखि संगठित अपराधसम्मका चारवटा झुटा अभियोग लगाएर सरकार विरोधी धारणा दमन गर्ने प्रयास भइरहेको बताए ।

advertisement

सांसद जबराले भने, “हामीले बोकेको राजावादी विचारलाई दबाउन र हामीलाई हतोत्साहित गर्न नियोजित रूपमा झुटा मुद्दा लगाइएका छन्। तर म विश्वास गर्छु, नेपालको गरिमामय न्यायालयले दुधको दूध र पानीको पानी गरेर निष्पक्ष न्याय दिनेछ।”

उनले घटनाको सत्यतथ्य पत्ता लगाउन संसद्ले छानबिन समिति गठन गर्नुपर्ने औंल्याए। “यदि यस्तो घटनाको पनि छानबिन गर्दैनौं भने संसद् केका लागि हो? दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिन संसद्ले भूमिका खेल्नुपर्छ,” उनले जोड दिए।

सांसद जबराले तीनकुनेमा भएको घटनालाई राज्यको कमजोर सुरक्षा संयन्त्रको नतिजा भन्दै टिप्पणी गरे। घटनाको समयमा प्रभावकारी सुरक्षा व्यवस्था नभएकै कारण स्थिति चर्किएको भन्दै उनले सुरक्षातर्फ सरकार गम्भीर नदेखिएको आरोप पनि लगाए।

तीनकुने घटनापछि पक्राउ परेका राजावादी विचारका नेता तथा कार्यकर्ताहरूलाई यथाशीघ्र रिहा गर्न माग गर्दै सांसद जबराले राज्यलाई राजनीतिक प्रतिशोधको बाटो नअपनाउन चेतावनी दिए।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com