काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सिन्धुपाल्चोक र काभ्रे जिल्लालाई जोड्ने चेहेरेको पुल निर्माण वर्षौंदेखि अलपत्र रहेको भन्दै संसद्मा सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बास्कोटाले सरकारसँग दुईतिहाइको समर्थन भए पनि विकास निर्माणमा देखिएको लापरबाहीले जनताको विश्वास गुमिरहेको बताए। उनले निर्माण कार्यको नक्कली रिपोर्ट देखाएर जनतालाई झुक्याउने प्रवृत्तिबाट मन्त्रीहरू मुक्त हुनुपर्ने माग समेत गरे।
बास्कोटाले चार वर्षअघि १४ करोड रुपैयाँको लागतमा चेहेरेको पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको स्मरण गराए। तर हालसम्म केवल दुईवटा पिलर र एक फक्याल्टो (टेम्पररी संरचना) मात्रै बनाइएको भन्दै उनले निर्माणकार्यप्रति गम्भीर असन्तुष्टि जनाए।
“१० चोटी भनिसकियो—पुल कहिले बनाउने? तर काम सुरु भएको छैन। मन्त्रीहरूले के गरिरहनुभएको छ? संयन्त्र केका लागि हो?” भन्दै उनले प्रश्न गरे।
सांसद बास्कोटाले वर्तमान सरकारलाई प्राप्त दुईतिहाइ समर्थन केवल कागजी रिपोर्टमा सीमित भएको आरोप लगाए। उनले भने, “दुईतिहाइको दम्भ गरेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ। जनताको करबाट निर्माण गर्न लागिएको पुल अलपत्र पारेर जनतालाई धोका दिइएको छ।”
बास्कोटाले निर्माण कम्पनी तथा सम्बन्धित निकायहरूलाई नक्कली प्रगति विवरण प्रस्तुत गर्ने कार्यप्रति चेतावनी दिँदै मन्त्रीहरूलाई यस्तो प्रवृत्तिबाट मुक्त हुन आग्रह गरे। “अब काम देखाउनुस्, कागजमा होइन, जमिनमा देखिने काम गर्नुस्,” उनको जोड थियो।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया