काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको बैठक अब साउन १९ गते दिनको १ बजे पुनः बस्ने गरी सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।
बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। सो विधेयक राष्ट्रियसभाबाट उत्पत्ति भएको हो।
त्यसैगरी, सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा देखिएको त्रुटिसम्बन्धी अध्ययन गर्न गठन गरिएको संसदीय विशेष छानबिन समितिको कार्यकाल थप ७ दिनका लागि लम्ब्याइएको छ। समितिको म्याद यसअघि आइतबारसम्म सीमित थियो।
बैठकमा नेपाली कांग्रेसका चार सांसदहरूको विषयगत समिति हेरफेर पनि गरिएको छ। सभामुख घिमिरेले पेश गरेको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो।
हेरफेर अनुसार:
-
दिक्पालकुमार शाही कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट महिला तथा सामाजिक मामिला समितिमा सरेका छन्।
-
विष्णुकुमार कार्की कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पूर्वाधार विकास समितिमा।
-
प्रतिमा गौतम पूर्वाधार विकास समितिबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा।
-
आशा विक महिला तथा सामाजिक मामिला समितिबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा स्थानान्तरण भएका छन्।
अब प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते दिनको १ बजे बस्नेछ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया