काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टीमा पुनः सक्रिय राजनीतिमा फर्किन सदस्यता नवीकरण गरिसकेको घोषणा गरेकी छन्। पार्टीको निषेधात्मक निर्णयको प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टी सदस्यबाट वञ्चित गर्ने कदम न त वैधानिक न त नै नैतिक भएको बताएकी छन्।
शुक्रबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमालेले आफूविरुद्ध लिएको निर्णय आवेग र उत्तेजनामा आधारित रहेको बताइन्। “पार्टीलाई एकताबद्ध, सुदृढ र सफल बनाउन सदस्यता नवीकरण गरेको हुँ। यसमा विवाद खोज्नु अनावश्यक हो,” उनले भनिन्।
भण्डारीले राष्ट्रपतिको पद ग्रहण गर्नु अगाडि आफू सक्रिय राजनीतिक जीवनमा रहेको र अब त्यो यात्रालाई पुनः निरन्तरता दिने बताइन्। “म राजनीतिज्ञ भएकैले राष्ट्रपतिको जिम्मेवारी सम्हालें। राष्ट्रपतिको कार्यकाल सकिएपछि फेरि राजनीतिमा फर्किनु स्वाभाविक हो,” उनले स्पष्ट पारिन्।
उनले पदको लोभ नभएको उल्लेख गर्दै भनिन्, “म इतिहासमा राष्ट्रपतिको रूपमा नाम लेखाइसकेको मान्छे हुँ। मलाई पदको कुनै लालसा छैन। तर राजनीतिक दलमा आबद्ध भएर देश र जनताको सेवा गर्ने संकल्प भने जारी राख्नेछु।”
एमालेले आफूलाई पार्टी सदस्यबाट वञ्चित गर्ने निर्णय वैधानिक नभएको दाबी गर्दै भण्डारीले उक्त निर्णयले पार्टीको छवि कमजोर बनाउने चेतावनी दिइन्। “संगठनमा आन्तरिक लोकतन्त्रको अभ्यास हुनुपर्छ। आवेगमा गरिएको निर्णयले पार्टीको साख गिराउँछ,” उनले भनिन्।
उनले संविधानले कुनै पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा आबद्ध हुन रोक नलगाएको स्पष्ट पार्दै भनिन्, “यो विषय घामजत्तिकै छर्लङ्ग छ। संविधानले कुनै पनि नागरिकलाई राजनीतिक भागीदारीबाट रोक्दैन।”
भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गर्दै आफूले सधैं विधिको शासन र संवैधानिक सर्वोच्चताको सम्मान गरेको बताइन्। “जबजको आत्मा भनेकै विधिको शासन हो। त्यसैले ममाथि कुनै प्रतिबन्ध लाग्नुपर्ने कारण छैन,” उनले निष्कर्षमा भनिन्।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया