काठमाडौं । सेयर कारोबारका नाममा ठगी र विश्वासघात गरेको आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवालको हिरासत अवधि चार दिन थप गरिएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार काठमाडौं प्रहरी परिसरलाई थप अनुसन्धान गर्न चार दिनको म्याद प्रदान गरेको हो।

प्रहरीले अग्रवाललाई गत सोमबार टोखाबाट पक्राउ गरेको थियो। धनुषा जनकपुर उपमहानगरपालिका–१ का ६० वर्षीय दिनेशप्रसाद साहलाई सेयर खरिदको लोभ देखाएर करिब ६ करोड ४५ लाख रुपैयाँ ठगेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

advertisement

पीडित साहले अग्रवालको खातामा उक्त रकम राखे पनि न त सेयर पाए, न रकम नै फिर्ता पाएका थिए। अन्ततः उनले प्रहरीसमक्ष उजुरी दिएका थिए।

पक्राउलगत्तै तीन दिनको हिरासत अनुमति पाएपछि बिहीबार प्रहरीले अग्रवाललाई पुनः अदालतमा उपस्थित गराएको थियो। तर, अदालतले एक दिनमात्र थप म्याद दिएपछि शुक्रबार फेरि अदालत लगिएको थियो। त्यसपछि चार दिनको म्याद थप गर्दै अनुसन्धान जारी राख्न अदालतले अनुमति दिएको हो।

प्रहरी अनुसन्धानमा अग्रवालले ठगीमा अन्य दुई व्यक्तिसमेत संलग्न रहेको खुलिएको छ। तर ती फरार रहेका कारण नाम सार्वजनिक गरिएको छैन।

मोरङ, विराटनगर–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ मा बस्दै आएका ४२ वर्षीय अग्रवालमाथि यसअघि पनि धितोपत्र दलाल कम्पनी र लगानीकर्तालाई ठगी गरेको आरोप लागेको थियो।

अग्रवालले सस्तो मूल्यमा सेयर खरिद गरेपछि सामाजिक सञ्जालमा हल्ला फैलाएर मूल्य कृत्रिम रूपमा बढाइ आफूले नै लाभ उठाउने गरेको अनुसन्धानमा खुलेको छ। उनले १५ वटा TMS (ट्रेड म्यानेजमेन्ट सिस्टम) खातामार्फत आफैं सेयर खरिद–बिक्री गर्ने रणनीति अपनाउने गरेको बताइएको छ।

नेपाल धितोपत्र बोर्डले पनि अग्रवालविरुद्ध छानबिन अघि बढाइसकेको छ। सेयर बजारमा कृत्रिम चलखेल, लगानीकर्तालाई भ्रममा पार्ने झुटा प्रचार र ठगी जस्ता गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि बोर्डले कानुनी कारबाही प्रक्रिया अगाडि सारेको हो।

प्रहरीका अनुसार अग्रवालविरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका अग्रवालको ठगी प्रकरणले सेयर बजारमा नयाँ चिन्ता थपिएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com