काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेश क्षेत्रको सिंचाइ समस्या समाधानका लागि तत्काल ५ सय डिप बोरिङ जडान गरिने घोषणा गरेका छन्।
शुक्रबार महोत्तरीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेशमा पानीको चरम अभावका कारण कृषि उत्पादनमा गम्भीर असर परिरहेको बताउँदै तत्कालीन राहत स्वरूप डिप बोरिङ स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन्।
“हामी अहिले तत्काल केही डिप बोरिङहरू जडान गर्छौं। सुरुमा ५ सय जति डिप बोरिङ जडान गरिनेछ,” उनले भने, “एउटा डिप बोरिङबाट करिब ६० बिघा जमिनमा सिंचाइ गर्न सकिन्छ।”
प्रधानमन्त्री ओलीले मधेशलाई सुख्खाग्रस्त क्षेत्रका रूपमा पहिचान गर्दै सरकारले यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको बताए। तर, घोषणा मात्रमा सीमित नभई तत्काल र दीर्घकालीन समाधानतर्फ पनि सरकार लागिपरेको उल्लेख गरे।
“संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्रै बस्ने होइन, सरकारले दुवै उपायबाट काम सुरु गरिसकेको छ,” उनले भने।
प्रधानमन्त्री ओलीले चुरे क्षेत्रमै पानीका तालतलैया निर्माण गरी भू-जल सतहलाई स्थिर राख्ने प्रयास भइरहेकाे जानकारी पनि दिए। साथै, सबै सरकारी निकायहरू र गैरसरकारी संघसंस्थाहरुलाई उक्त कार्यमा सहयोग गर्न आग्रह गरे।
“८ वटै जिल्लालाई ध्यानमा राखेर योजनाबद्ध रूपमा काम अघि बढाइनेछ,” प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया