सुर्खेत । रूकुम पश्चिमको भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये एक जनाको शव सुर्खेतमा फेला परेको छ।
दाङ निवासी ३५ वर्षीय चालक मनिराम चौधरीको शव शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका–२, खोजी क्षेत्र नजिकैको भेरी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। चौधरीको ठेगाना दाङको कुन स्थान हो भन्ने अझै खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश बिष्टका अनुसार, चौधरीको शव दुर्घटना भएको स्थानभन्दा करिब ६० किलोमिटर तल सुर्खेतमा फेला परेको हो।
साउन ६ गते बेलुका करिब ७:४५ बजे रा १ क १५०१ नम्बरको टिपर आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको थियो। सो टिपर जाजरकोटको नलगाड नगरपालिका–११ चिसापानीबाट वडा नं. १४ को छेपारेतर्फ जाँदै थियो।
उक्त दुर्घटनामा सानीभेरी गाउँपालिका–३ का धनवीर बराइली र सिस्ने गाउँपालिका–८ स्यालापाखाका हरि विक पनि सवार थिए। उनीहरू हालसम्म पनि बेपत्ता छन्।
टिपर भने दुर्घटना स्थलभन्दा झन्डै ५ सय मिटर तल फेला परेको थियो। भेरी नदीको पानीको बहाव उच्च भएका कारण खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ।
बेपत्ताहरूको खोजी कार्य रूकुम पश्चिम र जाजरकोट प्रहरीले संयुक्त रूपमा जारी राखेको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया