काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समयसापेक्ष आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित “संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान” विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान बहुलवादमा आधारित रहेकाले बदलिंदो परिस्थिति अनुसार संशोधन सम्भव हुने स्पष्ट पारे।
“नेपालको संविधान बहुलवादमा आधारित छ। अहिले विभिन्न क्षेत्रबाट संशोधनको आवाज उठिरहेको छ। राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको व्यवस्था गर्नुपर्छ भन्ने धारणा छ। त्यसैले आवश्यकता अनुसार संविधान संशोधन हुन्छ,” देउवाले भने।
स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औं स्मृतिमा सहिद स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा देउवाले कांग्रेस पार्टी, लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा शास्त्रीले पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
कार्यक्रममा कांग्रेस नेता तथा राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि र नेता अर्जुननरसिंह केसीले पनि शास्त्रीको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्यमान्यता र पार्टी सुदृढीकरणमा उनको भूमिकालाई उल्लेखनीय भने।
नेताहरूले संविधानलाई समयसापेक्ष बनाउँदै लैजान साझा राजनीतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरे।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया