काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा रही बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरेकी छन्।
शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले आफू जननेता मदन भण्डारीको प्रेरणाबाट एमालेमा प्रवेश गरेको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि पुनः पार्टीमा फर्किएको बताइन्।
“राजनीति गरेरै म राष्ट्रको सर्वोच्च पदमा पुगेँ, अब बाँकी जीवन पनि राजनीतिमा समर्पित गर्नेछु,” भण्डारीले भनिन्, “पदप्रतिको कुनै लालसा वा आशक्ति छैन।”
एमालेको नवौं केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारीले आफूलाई पार्टीबाट वञ्चित गरिनुपर्ने कुनै वैधानिक वा नैतिक कारण नरहेको स्पष्ट पारिन्।
जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) प्रति पार्टी, नेता र कार्यकर्ताको निष्ठाले एमाले सफल भएको भन्दै भण्डारीले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा अझ सुदृढ बनाउन आह्वान गरिन्।
“मुलुकको समृद्धिका लागि मदन भण्डारीका विचारहरू कार्यान्वयन गर्नु आवश्यक छ,” उनले जोड दिइन्।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया