काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट दलहरू व्यवहारमा लोकतान्त्रिक सिद्धान्त अनुरूप काम गरिरहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले संविधान सबैका लागि स्वीकार्य भइसकेको बताउँदै आवश्यकताअनुसार संशोधन गरिनुपर्ने धारणा व्यक्त गरे।

“नाममा चाहे नेपाल कम्युनिष्ट पार्टी किन नहोस्, व्यवहार र कार्यशैलीमा प्रायः सबै दलहरू लोकतान्त्रिक समाजवादी पार्टीजस्तै ढंगले काम गरिरहेका छन्,” सभापति देउवाले स्पष्ट पारे। उनका अनुसार नेपालको संविधानले बहुलवाद र सहमतिको मूल मान्यता अँगालेको छ, जसका आधारमा सबै दलहरू ढल्दै गएको स्पष्ट देखिन्छ।

advertisement

सभापति देउवाले अहिलेको संविधान सबै राजनीतिक शक्तिहरूको साझा दस्तावेज बनेको भन्दै समयसापेक्ष आवश्यक परे संशोधन गर्न सकिने बताए। राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षलाई उपराष्ट्रपतिसहितको सन्तुलनमा राख्ने विषयमा पनि बहस भइरहेको उल्लेख गर्दै उनले संविधान लचिलो भएर जनताको आवश्यकता अनुसार परिमार्जनशील हुनुपर्ने धारणा राखे।

कार्यक्रममा उनले नेपाली कांग्रेसको सैद्धान्तिक रूप प्रजातान्त्रिक भए पनि संगठनात्मक तहमा अझै देशका सबै कुनामा बलियो उपस्थिति बनाउन नसकेको स्वीकार गरे। “हामी प्रजातन्त्रको मूल मान्यता बोकेको पार्टी हौं, तर त्यो विचारलाई अझै सबै तहसम्म पुर्‍याउन बाँकी छ,” उनले भने।

संविधान राम्रै भए पनि कुनै पनि दलले बहुमत ल्याउन सहकार्य, सहमति र लचिलोपन आवश्यक हुने देउवाको भनाइ थियो। “संविधान राम्रो छ, तर कोहीसँग मिल्न नसकेर, लचिलोपन नदेखाएर बहुमत ल्याउनु अहिलेको संरचनामा असम्भवजस्तै छ,” उनले निष्कर्ष निकाले।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com