काठमाडौं ।  पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ ।

कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

advertisement

उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।

२०७८ साल भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए  । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो ।

तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताए । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । १०५ वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन् ।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।

सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने इन्जिनियर कुँवरले बताए ।

आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । २०७९ साल साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com