काठमाडौं । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यो वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन्। तीमध्ये ४२०  मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ।

निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्ररूपमा फैलिएको छ। सबैभन्दा बढी झापामा १३ हजार ११८ वटा गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण भएको छ।

advertisement

मोरङमा एक हजार ९५८, इलाममा एक हजार ६६५, सुनसरीमा एक हजार १००, उदयपुरमा ५०१, खोटाङमा ३५५, भोजपुरमा ७३, ताप्लेजुङमा ४५, धनकुटामा ३३ र सबैभन्दा कम पाँचथरमा १० वटा पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको उनले जानकारी दिए।

यो रोगबाट दश जिल्लाका १८ हजार ७४५ गाईगोरु र १७६ वटा भैँसीराँगामा रोगको सङ्क्रमण देखिएको छ। रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका दुई लाख ९३ हजार २२३ गाईगोरु र राँगाभैँसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको पशु चिकित्सक साहले बताए।

उनले गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिरहेको जानकारी दिए। ‘यो रोग लामखुट्टे, भुसुना, झिँगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ’, उनले भने, ‘रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ।’

यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्छ। यसबाट सङ्क्रमित पशु  मर्ने गरेका छन्।

 

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com