चितवन । गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख तथा नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ। उनी ७६ वर्षका थिए।
गुरुङको आज बिहान ८ बजे चितवनको भरतपुर महानगरपालिका–२६ स्थित निवासमा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ यसअघि नेपाली कांग्रेस चितवनका सभापति र नवलपरासीको भूमि आयोगका अध्यक्ष पदमा पनि कार्यरत थिए।
कांग्रेस विभाजनका बेला उनी प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति थिए। विसं २००६ मा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–ल्वाङघलेलमा जन्मिएका गुरुङ पछि चितवन बसाइँ सरेका थिए।
विसं २०४६ को जनआन्दोलनमा परिचालन समितिका सदस्यका रूपमा संलग्न गुरुङ नेपाली कांग्रेसका विभिन्न तहमा रहेर सक्रिय राजनीतिमा सहभागी थिए।
उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा विदेशमा छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङका अनुसार, गुरुङको अन्त्येष्टि आइतबार गरिनेछ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया