नुवाकोट ।  विदुर नगरपालिकाले आफ्नै बाँझो रहेको ६ रोपनी जग्गामा व्यावसायिक फूलखेती सुरु गरेको छ। विदुर–९ मा रहेको वडा कार्यालयको परिसरमा नगरपालिकाले सयपत्री र मखमली जातका करिब ९ हजार बिरुवा रोपेको छ। नगरप्रमुख राजन श्रेष्ठका अनुसार, यो उत्पादन आगामी तिहार पर्वका लागि लक्षित गरिएको हो।

नगरपालिकाले बाँझो जमिनको सदुपयोग गर्दै फूल बिक्रीमार्फत आम्दानी वृद्धि तथा स्थानीयवासीलाई व्यावसायिक फूलखेतीप्रति आकर्षण गराउने उद्देश्यसहित वार्षिक कार्यक्रमअन्तर्गत पुष्पखेतीको प्रवर्द्धन थालेको हो। “गत वर्ष परीक्षणका रूपमा गरिएको खेती सफल भएपछि यस वर्ष नियमित उत्पादन गर्ने लक्ष्य राखिएको छ,” नगरप्रमुख श्रेष्ठले बताए।

advertisement

फूलखेतीका लागि आधुनिक यान्त्रिकीकरण प्रविधि अपनाइएको छ। कृषि शाखाका अधिकृत सविना बोगटीका अनुसार, मल्चिङ प्रविधिमा आधारित खेती प्रणाली प्रयोग गरेर बिरुवा रोप्ने काम भइरहेको छ। यसले उत्पादन लागत घटाउने र आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू नै बिरुवा रोप्नमा खटिएका छन्। फूलका बिरुवा अन्य स्थानबाट खरिद गरिएको हो।

यसैबीच, वडा नं ५ ले पनि कार्यालय परिसरको बाँझो जमिनमा व्यावसायिक फूलखेती थालेको वडा अध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिएका छन्। फूलखेतीको यो पहलले नगरपालिकाको प्रयोगविहीन जग्गा सदुपयोग गर्नुका साथै स्थानीय किसानहरूलाई समेत व्यावसायिक कृषितर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com