काठमाडौं । नेपाली कांग्रेस चितवनका पूर्व सभापति तथा गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधनप्रति नेपाली कांग्रेसले गहिरो शोक व्यक्त गरेको छ।
७६ वर्षको उमेरमा आज बिहान ८:४५ बजे गुरुङको निधन भएको हो। उनको अन्त्येष्टि सोमबार सम्पन्न हुने परिवारले जनाएको छ।
गुरुङले नेपाली कांग्रेसको संगठन निर्माणदेखि नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेका थिए। पार्टीका विभिन्न तहमा रहँदै उनले कांग्रेसको सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका थिए।
उनको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गरेका छन्। देउवाले भनेका छन्, “स्वर्गीय गुरुङले पार्टीको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीरशान्तिको कामना गर्दछु। साथै, शोकसन्तप्त परिवारजनप्रति पार्टी र मेरो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।”

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया