काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा ऐनसम्बन्धी संशोधन प्रस्तावलाई लिएर एमालेप्रति कडा टिप्पणी गरेका छन्।

काठमाडौंको सितापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रमा आयोजित बहुउद्देश्यीय भवन उद्घाटन तथा शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष प्रचण्डले “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो” भन्ने अभिव्यक्ति दिएका हुन्। उनका अनुसार, राष्ट्रिय सभामा एमाले सांसदहरूले अघि सारेको संशोधन प्रस्तावले माओवादी केन्द्रले उठाएको शंका पुष्टि गरेको छ।

advertisement

कार्यक्रममा प्रचण्डले शिक्षा क्षेत्र, शिक्षक आन्दोलन र वर्तमान सत्ता सञ्चालनका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दुवैप्रति असन्तोष प्रकट गरे। उनले शिक्षक आन्दोलन संविधानले समाधान गरिसकेको विषय भए पनि सरकारको असंवेदनशीलताका कारण पुनः आन्दोलनमा जानुपरेको बताए।

“माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुनुपर्ने थिएन,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डका अनुसार, आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरिएको सहमति वर्तमान सरकारले कार्यान्वयन नगरेको हो।

शिक्षा विधेयकमाथि संसदमा गरिएको संशोधनप्रति पनि उनले आपत्ति जनाएका छन्। उनका अनुसार माओवादी नेतृत्वको सरकारले शिक्षकका माग समेटिएको विधेयक अघि बढाएको भए पनि अहिले त्यसमा सडयन्त्र गरिएको छ।

राजनीतिक स्थायित्व र वैचारिक नेतृत्वको सन्दर्भमा प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक दिशाको खडेरी रहेको टिप्पणी गरे। उनले भने, “एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारीको अन्योल छ।”

उनले माओवादी केन्द्रमात्रै अहिले पनि स्पष्ट वैचारिक नीतिका साथ जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेको दाबी गरे। “आजको परिस्थितिमा माओवादी केन्द्र मात्रै यस्तो पार्टी हो जहाँ वैचारिक राजनीतिक नेतृत्वको संकट छैन,” उनले भने।

 

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com