काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी पुनःप्रवेश प्रयासप्रति स्पष्ट अस्वीकार गर्दै सदस्यता नवीकरण सम्भव नभएको बताएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको ढोका भण्डारीका लागि बन्द भइसकेको दाबी गरेका छन्।
भक्तपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले भण्डारीको सदस्यता अब विधानअनुसार नवीकरण नहुने बताएका हुन्। “पहिले राष्ट्रपतिको ललिपप देखेर गएकी, अहिले सदस्यता खोजेर पाइँदैन,” उनले कटाक्ष गरे।
पूर्व उपाध्यक्षको हैसियतमा भण्डारीले पत्रकार सम्मेलनमार्फत आफ्नो सदस्यता विधिसम्मत ढंगमा नवीकरण भएको दाबी गरेकी थिइन्। त्यसबारे प्रतिक्रिया दिँदै गौतमले भने, “उहाँले आफूलाई सामान्य विद्या भण्डारी मात्र सम्झिनुभयो, तर देशको पूर्व राष्ट्रपति भएको जिम्मेवारी बिर्सिनुभयो।”
गौतमका अनुसार एमालेको विधानअनुसार राष्ट्रपति जस्तो संवैधानिक पदमा पुगेपछि स्वतःस्फूर्त रूपमा सदस्यता निष्क्रिय हुने व्यवस्था छ। “विधानको धारा ८ र ९ अनुसार सभामुख, उपसभामुख वा राष्ट्रियसभा अध्यक्षले सदस्यता स्थगन गर्न सक्छन्, तर राष्ट्रपतिका हकमा त्यस्तो व्यवस्था छैन,” उनले स्पष्ट पारे।
उनले भण्डारीको पार्टी प्रवेश प्रयासलाई “संविधानको नाममा मौलिक हक भन्दै गरिने दाबीको कुनै औचित्य छैन” भन्दै खारेज गरे। “राजनीतिमा उमेर पुगेकाहरू ललिपप देखेर हतार-हतार गइरहनु हुँदैन,” उनले भने।
गौतमले पार्टीभित्र पूर्वराष्ट्रपतिलाई लिएर कुनै भेदभाव गरिएको छैन भन्ने प्रस्ट्याउँदै भने, “७० वर्षे उमेर सीमा, दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको निष्क्रियता सम्बन्धी निर्णय पार्टीभित्र व्यापक छलफलपछि लिइएको हो।”
यस अभिव्यक्तिले पूर्व राष्ट्रपति भण्डारी र एमाले नेतृत्वबीचको सम्बन्ध थप चिसिएको संकेत गरेको छ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया