काठमाडौं । नेकपा (एमाले)का स्थायी समिति सदस्य कर्ण थापाले पार्टीभित्र गुटबन्दी झनै जटिल बन्दै गएको आरोप लगाएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नाममा गुट सञ्चालन भइरहेको गम्भीर आरोप लगाएका हुन्।
उनका अनुसार दसौँ राष्ट्रिय महाधिवेशनपछिको समय पार्टीभित्र गुटबन्दीको हिसाबले सबैभन्दा जटिल अवस्थामा पुगेको हो। “मूल नेतृत्व वा नीति र विचारमा मतभेद छैन,” थापाले लेखेका छन्, “तर अध्यक्ष वा महासचिवले यस्तो भन्नुभयो भनेर आफ्नै स्वार्थमा गुट बनाएर काम गर्ने प्रवृत्ति संस्थाभित्रै हावी भएको छ।”
थापाले पार्टी कार्यालयमै बसेर देशभरि गुटहरूलाई प्रश्रय दिने काम भइरहेको दाबी गरे। साथै, केही सीमित व्यक्तिहरूले आफूलाई पार्टीका ‘अधिकार प्राप्त’ बनाउँदै अरूलाई दोस्रो दर्जाको कार्यकर्ताजस्तो व्यवहार गर्ने प्रवृत्तिको आलोचना गरे।
उनले जनताको बहुदलीय जनवादले पार्टीभित्र आन्तरिक लोकतन्त्रको आधारमा सबै सदस्यलाई समान अधिकार र स्वायत्तता सुनिश्चित गरेको स्मरण गराए। तर व्यवहारमा भने त्यो नदेखिएको गुनासो गरे।
“पार्टी भनेको केन्द्रीय कमिटी मात्र होइन, कमिटीको निर्णय केही निश्चित व्यक्तिको सल्लाहका भरमा हुने अभ्यास गलत हो,” थापाले लेखेका छन्, “यो प्रवृत्तिलाई जनताको बहुदलीय जनवादले सच्याएको हो, तर व्यवहारमा हामी अझै चुकिरहेका छौं।”
थापाले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउन गुटबन्दीको तत्काल अन्त्य अपरिहार्य रहेको पनि जोड दिए।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया