काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र वैचारिक संकट नरहे पनि केही व्यक्ति दलाल र प्रतिक्रियावादीहरूको उक्साहटमा लागेको गम्भीर आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मातर्फ संकेत गर्दै पार्टीमा वैचारिक वा नेतृत्वको संकट नभए पनि एक–दुई नेता बाह्य तत्वको प्रभावमा परेको बताए।
उनले भने, “एकाध मान्छेका असन्तुष्टि, कुण्ठा र प्रतिक्रियावादी तथा दला लहरूका उक्साहटमा गएर पार्टीमा संकट देखाउने प्रयास भइरहेको छ, तर हाम्रो पार्टीमा न वैचारिक संकट छ, न नेतृत्वको।”
एमाले र कांग्रेसमा देखिएको आन्तरिक द्वन्द्वप्रति टिप्पणी गर्दै प्रचण्डले एमालेलाई गहिरो वैचारिक–राजनीतिक संकटमा फसेको र कांग्रेसभित्र बीपी कोइराला वा गिरिजाप्रसाद कोइरालाजस्ता नेतृत्वको अभाव रहेको बताए। उनले भने, “आजको माओवादी केन्द्र नै एउटामात्र यस्तो पार्टी हो, जहाँ स्पष्ट वैचारिक मार्ग, नीति र नेतृत्वको एकता छ।”
उनका अनुसार पार्टीको आठौं महाधिवेशनले सर्वसम्मत रूपमा समाजवादी क्रान्तिको नीतिमा प्रतिबद्धता जनाएको र हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पनि सर्वसम्मत निर्णय गरेको तथ्यले माओवादी केन्द्र स्थिर र संगठित दिशामा अघि बढिरहेको पुष्टि गर्छ।
प्रचण्डले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘संविधान र गणतन्त्र विरोधी, भ्रष्टाचारी र जनघृणाको पात्र बनेको सरकार’ भन्दै आरोप लगाए। उनले गठबन्धनभित्रकै असन्तुष्ट पक्षसँग समन्वय गर्दै त्यसविरुद्ध रणनीतिक पहल भइरहेको संकेत गरे।
उनले भने, “अब माओवादीका लागि यो अवसर हो। अरू पार्टीहरूमा संकटको अवस्थालाई हामीले जिम्मेवारीपूर्वक सम्हाल्न सके फेरि नेतृत्वमा आउने वातावरण बन्नेछ।”
प्रचण्डले अन्त्यमा पार्टी एकता, विचार र संगठन सुदृढ गर्दै अघि बढ्न सबै कार्यकर्तालाई आह्वान गरेका छन्।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया