काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको समयमा नेपालका लागि मुख्य खतरा राजतन्त्र नभएर दलाल पुँजीवाद रहेको स्पष्ट पारेका छन्।
शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा सामन्ती निरंकुशता र राजतन्त्र अब प्रमुख दुस्मन नभएको धारणा व्यक्त गरे। “राजतन्त्र उठ्ने प्रयास भए पनि त्यसले मुलुकलाई गम्भीर असर पार्ने अवस्था छैन,” प्रचण्डले भने।
उनले अहिलेको सबभन्दा ठूलो समस्या दलाल पुँजीपतिहरू, बिचौलिया, र नोकरशाही पुँजीवाद भएको जिकिर गरे। “केही मुठ्ठीभर दलाल पुँजीपतिहरूले नेपालको अर्थतन्त्र र विकास प्रक्रियामाथि नियन्त्रण जमाएका छन्,” उनले भने, “यही समूह देशलाई विध्वंसतर्फ धकेलिरहेको छ।”
संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि गरिएको चलखेल र छेडछाडप्रति पनि उनले कडा आपत्ति जनाए। “सांसदहरूलाई अपमानित हुनेगरी विधेयकमाथि हस्तक्षेप भयो, त्यो कहालीलाग्दो अवस्था हो,” उनले भने।
उनले न्यायालयदेखि प्रशासनसम्म, सबै निकायहरूमा व्याप्त भ्रष्टाचार, बिचौलियाको चलखेल र दलाल प्रवृत्तिविरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिए। “आजको दिनमा नेपाललाई नोकरशाही पुँजीवादले गाँजेको छ, यही हाम्रो मुख्य शत्रु हो,” उनले स्पष्ट पारे।
प्रचण्डले वर्तमान विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध सशक्त आन्दोलन खडा गर्नुपर्ने बेला आएको पनि बताएका छन्।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया