काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता पशुपतिको एक होटलमा गरिएको षड्यन्त्रपूर्ण मिलेमतोका कारण भङ्ग भएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित पुष्पलाल स्मृति दिवसको अवसरमा ‘निर्वासन’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले आफूले प्रधानमन्त्री पद त्यागेरसमेत एकता जोगाउने प्रयास गरेको तर सफल हुन नसकेको बताए।
“मैले प्रधानमन्त्री पनि चाहिँदैन भनेपछि ओलीको अनुहार उज्यालो भएको थियो। एकता भयो, झण्डै दुई तिहाइको सरकार बन्यो, तर त्यो पनि टिकेन,” दाहालले भने, “मैले अध्यक्षको हैसियतमा एक मात्र केन्द्रीय कमिटी बैठक चलाएँ, जुन अत्यन्त सफल भयो। त्यसपछि केही नेताहरू आत्तिए, र त्यसकै परिणामस्वरूप पशुपतिको एउटा होटलमा बैठक गरेर षड्यन्त्र रचियो।”
उनका अनुसार उक्त षड्यन्त्रपछि पार्टीभित्रको द्वन्द्व चुलिँदै गयो र अन्ततः पार्टी टुट्यो।
कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिस्ट एकता विचार, राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीतिमा स्पष्टता बिना सम्भव नहुने बताए। “अमूर्त आदर्शको नाममा एकता खोज्नु केवल भ्रम हो,” उनले भने।
उनले ऐतिहासिक सन्दर्भ कोट्याउँदै पुष्पलालको विचार र योगदानको चर्चा गरे। “पुष्पलालले निरंकुश राजतन्त्रलाई मुख्य शत्रु मानेर अन्य शक्तिसँग सहकार्य गर्न सक्नु भयो,” उनले भने, “तर अहिलेको युगमा मुख्य शत्रु दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद हो।”
दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई दलाल पुँजीवादविरुद्ध एकजुट हुन आह्वान गर्दै पुष्पलालको विचार र नेतृत्वलाई आगामी कम्युनिस्ट आन्दोलनको एकताको केन्द्रविन्दु बनाउनुपर्ने प्रस्ताव राखे।
“हिजो उसले उसलाई गाली गर्यो, उसले उसलाई बहिष्कार गर्यो भन्ने अवस्था अब परिवर्तन गर्नुपर्छ,” उनले जोड दिँदै भने, “पुष्पलाललाई साझा नेता मानौं, उहाँकै विचारको आलोकमा एकता गरौं।”
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया