काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली राजनीतिको ‘ब्रान्ड’को रूपमा परिभाषित गरेका छन्। तर उनले प्रचण्डलाई समयानुकूल रूपान्तरण गर्न आवश्यक रहेको पनि स्पष्ट पारेका छन्।
पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले जनयुद्धदेखि शान्ति प्रक्रिया र संविधान निर्माणसम्मको सम्पूर्ण नेतृत्व प्रचण्डले सम्हालेको उल्लेख गर्दै अहिले समाजवादको आधार निर्माणका लागि पनि उनको भूमिका अपरिहार्य रहेको तर्क गरे।
“हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबद्ध र एकताबद्ध छौँ। उहाँ परिवर्तनको राजनीतिमा एक सशक्त ब्रान्ड हुनुहुन्छ। उहाँको ब्रान्ड भ्यालु अझै कायम छ,” पुनले भने।
तर उनले केवल प्रचण्डलाई ‘ब्रान्ड’ भनेर ढुक्क बस्न नहुने भन्दै रूपान्तरण आवश्यक रहेको जोड दिए। “प्रचण्ड कमरेडले आफूलाई पनि रूपान्तरण गर्नुपर्छ, त्यो आजको आवश्यकता हो,” उनले भने।
पुनले विगतमा पटक–पटक मन्त्री, सांसद तथा पार्टी नेतृत्वको जिम्मेवारी सम्हालेका नेताहरूले आज भएको कमजोरीको सम्पूर्ण दोष प्रचण्डलाई मात्र थोपरेर उम्कन नहुने बताए। “हामीमध्ये कोही अर्थमन्त्री, कोही गृहमन्त्री, ऊर्जा मन्त्री र सांसदसमेत भएका छौँ,” उनले स्मरण गराए, “पार्टीको वर्तमान अवस्थाका लागि हामी सबैको जिम्मेवारी बराबर छ।”
उनले आफूहरू दोस्रो तहका नेताहरूको जिम्मेवारी अझै महत्वपूर्ण भएको भन्दै आत्मसमीक्षा, सुधार र संगठन विस्तारका लागि अग्रसर हुनुपर्ने बताए।
पुनले पार्टीमा अहिले अनुभव बोकेको पहिलो पुस्ता, जोशयुक्त तेस्रो पुस्ता र सन्तुलन कायम गर्न सक्ने दोस्रो पुस्ताबीचको सहकार्य अपरिहार्य रहेको औंल्याए। “पुरानो ज्ञानले मात्र चल्दैन, नयाँ जोश मात्रले पनि चल्दैन। हामी दोस्रो पुस्ताका नेताहरूले यो पुलको भूमिका खेल्नुपर्छ,” उनले भने।
‘सबै खत्तम, म मात्रै रामो’ भन्ने सोचले पार्टी चल्न नसक्ने भन्दै पुनले आलोचना मात्र होइन, समाधानसहित अघि बढ्नुपर्ने धारणा राखे।
फरक प्रसङ्गमा बोल्दै पुनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश, स्वेच्छाचारी र भ्रष्टाचारी भएको आरोप लगाए। “एक वर्षको अवधिमा यो सरकारले राज्य दोहन, भ्रष्टाचार र अधिनायकवादलाई संस्थागत गर्न खोजेको छ,” उनले भने।
उनले ओली फेरि पनि संसद् विघटनको तयारीमा रहेको आशंका व्यक्त गर्दै यस्तो प्रवृत्तिले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिए। “पहिले दुई पटक संसद् विघटन गरिसक्नु भएको व्यक्ति हो, फेरि त्यस्तै तयारी छ भन्ने चर्चा छ। त्यसैले परिवर्तन पक्षधर सबै शक्ति एकजुट हुनुपर्छ,” उनले भने।
पुनले विगतमा व्यवस्था फेर्ने आन्दोलनको अगुवाइ गरेका दल र नेताहरू नै आज जनताको विश्वास गुमाउँदै संस्थागत भ्रष्टाचार, लाचारी र असफलताका कारण परिवर्तनकै विपक्षमा सशंकित हुने अवस्था सिर्जना भएको बताए। “पुराना पार्टीहरूका अयोग्यता देखाएर यो व्यवस्था नै असफल हो भन्न खोजिँदैछ, त्यसकारण हामी सजग हुनुपर्छ,” उनले भने।
कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सन्दीप पुन, ममता अधिकारी, दीपा जैसी र उप–महासचिवद्वय निरज श्रेष्ठ र जटिल कार्कीले समेत मन्तव्य राखेका थिए। उनीहरूले संविधानमा उल्लेख भएअनुसार माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानको पूर्ण कार्यान्वयनमा जोड दिएका थिए।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया