काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले केही दलाल पुँजीपतिहरू र विचौलियाहरूले नै देशलाई विध्वंशतर्फ डोर्याइरहेको आरोप लगाए।
“राजतन्त्र उठ्ने प्रयास गरे पनि आजको प्रमुख खतरा त्यो होइन,” प्रचण्डले भने, “नेपालमा अहिले दलाल पुँजीपतिहरू, विचौलियाहरू र केही मुठीभर शक्तिहरूले अर्थतन्त्र र विकास प्रक्रियालाई नियन्त्रणमा लिएका छन्।”
उनका अनुसार, नोकरशाही पुँजीवाद नै अहिलेको समृद्धि र विकासको मुख्य बाधक बनेको छ। उनले संघीय निजामति सेवा विधेयकमाथि संसदमा भएको व्यवहारलाई “लाजमर्दो” भन्दै आलोचना गरे। “विधायिकातिर हेर्दा दयनीय अवस्था देखिन्छ। सांसदहरू अपमानित हुने गरी चलखेल र छेडछाड भयो,” उनले प्रश्न गरे।
प्रचण्डले अदालत, प्रशासन (ब्युरोक्रेसी) र भ्रष्टाचार व्यापक रूपमा फैलिएको उल्लेख गर्दै त्यसका विरुद्ध संघर्ष अपरिहार्य रहेको बताए।
“राजतन्त्र अहिले मुख्य खतरा होइन, त्यसले उठ्न खोजेपनि उठ्दैन,” प्रचण्डले स्पष्ट पारे। उनका अनुसार वर्तमान चुनौती सामन्ती शासन होइन, तर लोकतान्त्रिक व्यवस्थाभित्रै गढेको अपारदर्शी दलाल संरचना हो जसविरुद्ध संघर्ष आवश्यक छ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया