काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख दुई सत्ता दल—नेपाली कांग्रेस र नेकपा एमाले—गम्भीर वैचारिक तथा राजनीतिक संकटमा फसेको दाबी गरेका छन्।

शनिबार राजधानीको सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली राजनीतिमा अहिले सबैभन्दा ठूला दलहरू असमञ्जस, नेतृत्वहीनता र दिशाहीनतासँग जुझिरहेको बताए।

advertisement

‘कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पुस्ताका गिरिजाप्रसाद कोइरालाले जस्तो वैचारिक गहिराइ, राजनीतिक दूरदृष्टि र सांगठनिक नेतृत्वको अभाव अहिले स्पष्ट देखिन्छ’, उनले भने, ‘यी नेताहरूको योगदानको हाराहारीमा पुग्ने नयाँ नेतृत्व जन्मिन सकेको छैन।’

एमालेतर्फ झनै जटिल अवस्था देखिएको भन्दै उनले जनताको बहुदलीय जनवाद (जबज) को जगमा उभिएको एमालेमा अहिले जबजकै नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठेको बताए।

‘मदन भण्डारीले अघि सारेको जबज आज विवादको विषय बनेको छ’, प्रचण्डले भने, ‘आज त्यो पार्टीभित्र जबजको सच्चा उत्तराधिकारी को हो भन्नेमा टकराव छ। यसको सुरु मदन भण्डारीसँग जोडिएका विवादित टिप्पणीबाट भएको हो।’

उनका अनुसार प्रधानमन्त्री केपी ओली स्वयंले एक कार्यक्रममा भण्डारीका चार पत्नी थिए भन्ने अभिव्यक्ति दिएपछि यो विवाद चुलिएको हो। त्यसपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नै जबजको सच्चा उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालेको उल्लेख गरे।

‘यो केवल व्यक्ति वा प्रसङ्गको विषय होइन, यो गहिरो वैचारिक संकट हो’, प्रचण्डले चेतावनी दिँदै भने, ‘वर्तमान अवस्थामा यस्ता संकटले ती दलहरू कमजोर बनाउँदै लगेका छन्।’

त्यसको विपरीत आफ्नो पार्टी माओवादी केन्द्र भने वैचारिक दृष्टिले स्पष्ट, नेतृत्वमा एकीकृत र राजनीतिक दिशामा स्थिर रहेको उनको भनाइ थियो।

‘एक–दुई जनाको असन्तुष्टि या बाह्य शक्तिको उक्साहट त हुन सक्छ’, उनले भने, ‘तर हाम्रो पार्टीमा कुनै वैचारिक, सांगठनिक वा नेतृत्वसम्बन्धी संकट छैन।’

प्रचण्डले ठूला दलहरूमा देखिएको अव्यवस्था माओवादी केन्द्रका लागि अवसरका रूपमा देखिएको बताए।

‘यदी हामीले परिस्थिति सही तरिकाले व्यवस्थापन गर्न सक्यौं भने देशको राजनीतिक नेतृत्व फेरि एकपटक हाम्रो हातमा आउने सम्भावना बलियो छ’, उनले भनाइ टुंग्याए।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com