काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोलामा एक व्यक्तिले सुतिरहेको अवस्थामा आफ्नै श्रीमतीको काठले हिर्काएर हत्या गरेका छन्।

४२ वर्षीय दानसिंह ठाडामगरले आइतबार बिहानपख ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

advertisement

घटनापछि ठाडामगरले विदेशमा रहेका आफ्ना छोराछोरी र प्रहरीलाई फोन गरी श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए। हत्या गर्नु अघि उनले वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई पनि फोन गरेर प्रहरीको सम्पर्क नम्बर मागेका थिए।

वडाध्यक्ष कोइरालाले भने, “राति करिब दुई बजेतिर मलाई फोन गरेर प्रहरीको नम्बर मागे। उनले हत्या गरेको कुरा भने त्यसबेला बताएनन्। तर पछि थाहा भयो कि उनले दुबईमा रहेका छोरा, जापानमा रहेकी छोरी र प्रहरीलाई भने हत्या गरेको बताएका रहेछन्।”

प्रहरीका अनुसार खबर पाउनासाथ नगर प्रहरी र करे खोला प्रहरी चौकीबाट टोली खटिएको थियो। शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको छ भने आरोपी ठाडामगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

वडाध्यक्ष कोइरालाका अनुसार शनिबार दिउँसो दानसिंहका आमाबुवा घर आएका थिए र परिवारसँग सामान्य गफगाफपछि खाना खाएर फर्किएका थिए। बेलुकाको खाना खाइसकेपछि श्रीमान–श्रीमती ओछ्यानमा पल्टिएर मोबाइल हेरिरहेका थिए। त्यही क्रममा रविना निदाएपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले उनको टाउकोमा प्रहार गरेर हत्या गरेका थिए।

हत्या किन गरिएको भन्ने विषयमा स्पष्ट कारण नखुलेको भए पनि वडाध्यक्ष कोइरालाका अनुसार आरोपी ठाडामगरले सोध्दा भनेका छन्, “मलाई केही थाहा भएन, सैतान देखेँ जस्तो लागेर हानेको हुँ।”

दानसिंह नेपाली सेनाबाट अवकाशप्राप्त हुन्। उनका एक छोरा दुबईमा, एक छोरी जापानमा, र अर्की छोरी सुर्खेतमै छन्।

स्थानीयका अनुसार उनी पहिलेदेखि मदिरा सेवन गर्थे तर पछिल्लो एक साता यता भने उनले रक्सी खान छाडेको बताइएको छ। घटनाको विस्तृत अनुसन्धान जारी छ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com